काठमाण्डाै,६ जेठ ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ६३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

हालसम्म २०८ वटा नगरपालिका र ४२७ वटा गाउँपालिका गरी ६३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो।

घाेषाित मतपरिणाम अनुसार नेपाली कांग्रेस २८२ वटा पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले नगरपालिकामा एक सयभन्दा धेरैमा जित हासिल गरेको छ । १ सय २ नगरपालिका र १ सय ८० गाउँपालिका गरी २ सय ८२ वटा पालिकामा कांग्रेसले मेयर तथा अध्यक्ष जितेको हो ।

यस्तै, कांग्रेसले ७७ वटा नगरपालिकाको उपमेयर र १८० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५७ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो।

नेकपा एमाले ६० वटा नगरपालिकाको मेयर र ११५ वटा गाउँपालिकाको अध्यक्ष गरी १७५ वटा पालिकाको प्रमुख पद जितेर दोस्रो स्थानमा कायम गरेकोे छ ।

यस्तै, एमालेले ७९ वटा नगरपालिकाको उपमेयर, ११७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १९६ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी ११२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ९१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ११९ वटा उपमेयर/उपाध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्ष गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ भने ८ वटामा उपमेयर जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १६ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १४ वटामा उपाध्यक्ष जितेको छ ।

यस्तै स्वतन्त्र र अन्य दलले गरी ३६ वटा पालिकामा मेयर/अध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ४१ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेकाे निर्वाचन आयोगले जनाएको छ।

­