काठमाडौँ,४ जेठ ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको बुधबार बेलुकीसम्म ५०४ पालिकाहरुको मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२६ पालिका प्रमुख जितेर पहिलो स्थानमा आएको छ । जुन घोषित परिणामको करिब ४५ प्रतिशत रहेको हो । नेकपा एमालेले १४५ पालिका प्रमुख जितेर दोस्रो स्थानमा रहेको छ ।

७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले ९८ स्थानमा जीत हासिल गरेर तेस्रो स्थानमा आएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीे ९÷९ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय जनमोर्चा, जनमत पार्टी नेपाल मजदुर किसान पार्टी, लोकतन्त्रिक समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १७ स्थानीय तहको प्रमुख जितेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले २१३ स्थानीय तहको उप प्रमुख जितेको छ भने एमालेले १५१, नेकपा माओवादी केन्द्रले १०३, नेकपा एकीकृत समाजवादीले १६ स्थानीय तहको उप प्रमुखमा जीत हासिल गरेको छ । जनता समाजवादी पार्टीले १०, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उप प्रमुखमा जित हालिस गरेको छ ।

महानगरपालिका, उप महानगरपालिका, धेरै मतदाता रहेका नगरपालिकाहरुको मतगणना जारी रहेको छ ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको थियो भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो ।