काठमाण्डाै,२८ बैशाख । सरकारकाे आउँदाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे जेठ ३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् । त्यसैअनुसार सरकारले आउँदाे आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने कार्ययोजना बनाइएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपति भण्डारीले जेठ ३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल जेठ ८ देखि ११ गतेसम्म हुने प्रवक्ता पाण्डेले बताए ।
बजेट अधिवेशनका लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको प्रवक्ता आज बुधवार न्युज एजेन्सी नेपलसँग कुरा गर्दै प्रवक्ता पाण्डेले बताए । जेठ ३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उनलेे जानकारी दिए ।
प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर चल्ने बताए । पाण्डेका अनुसार प्रतिनिधि सभासँगै जेठ ३ गतेदेखि राष्ट्रिय सभाको बैठक पनि सुरु हुने छ ।






