पर्वत,१८ भदौमा । पर्वतका विभिन्न ठाउँमा गएको पहिरोमा परेर पाँच जनाको मृत्यु भएकाे छ भने तीन जना बेपत्ता भएका छन् ।

गएराति गएको पहिरोमा परि कुश्मा नगरपालिका-३ दुर्लुङ्गमा दुई जना, कुस्मा-११ सिल्मीमा दुई जना र मोदी गाउँपालिका-५ आम्बोटमा एक जनाको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

लगातारको वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका-३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई जना मृत अवस्थामा फेला परेका हुन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ ।

पहिराेमा पुरिएर बेपत्ता भएका तीन जनाकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । गएराति २ बजे घरमाथिबाट आएको पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका हुन् ।

यस्तै कुश्मा-११ सिल्मीमा पहिरोले घर पुर्दा स्थानीय मनिपाल पौडेलको घरमा पाहुना लाग्न आएका मोदी गाउँपालिका-७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उहाँका छोरा ६ वर्षीय गणेशको ज्यान गएकाे हाे ।

पर्वतकै मोदी गाउँपालिका-५ आम्बोटमा गएराति पहिरोले घर पुर्दा स्थानीय ५० वर्षीया फुलमाया थापाको ज्यान गएकाे छ ।

गएराति १ बजे घरमाथिबाट आएको पहिरोले थापालाई पुरेकाे हाे । पहिरोमा बेपत्ता भएका थापाकाे शव फेला परिसकेकाे प्रहरीले जनाएकाे छ । अविरल वर्षाका कारण बिजुली बत्ती नभएकाले सञ्चार सम्पर्क विच्छेद हुँदा थप जानकारी नआएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।