लम्जुङ, १५ भदौ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) निवासी ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारी रहेका छन् ।
उनिहरूको गएराति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले जानकारी दिए ।
ग्यास लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगामाटोको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।
बढी मादक पदार्थ सेवन गर्ने गरेका उनिहरू १०/१५ दिनअघि मात्रै सुधार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।






