Share this News on Social Networking Pages

काठमाण्डौ,२ फागुन ।
देशका पश्चिमी पहाडी क्षेत्रका एक÷दुई ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अरु ठाउँको मौसम पनि राम्रोसँग नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । आज देशभर राम्रोसँग घाम नलाग्ने मौसमविद् नगरकोटीको भनाइ छ ।

यस्तै तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।

यस्तै अहिले अरु पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।