Share this News on Social Networking Pages

बुटवल,२ फागुन ।
नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस आज मनाइँदै छ ।

लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघको आयोजनामा आज उनको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका–८ बुङ्कोट सहित देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ ।

स्मृति दिवसका अवसरमा गएको माघ २८ गतेदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको आरोपमा थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उहाँलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।

यसैबीच प्रथम शहीद क्या. लखन थापामगर नेपाल मगर संघको आयोजनामा आज बुटवलमा पनि कार्यक्रम हुदैछ ।