काठमाडौं,२६ माघ ।
नेपालमा आगामी बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।
उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ ।
राजधानी काठमाडौंसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।