काठमाण्डौ,२४ माघ ।
आज पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।
आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ महाशाखाको अनुमान छ ।
राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुने उनले बताए ।
यो वर्षको हिउँदमा पानी ढिला गरी परेको र त्यसमा पनि सामान्य किसिमको मात्रै परेको मौसमविद् सापकोटाको भनाइ छ । भोलिदेखि मौसम सुधार हुने पनि उनले बताए । ढिलै भए पनि हिउँदे वर्षा र हिमपात भएपछि किसान खुसी भएका छन् ।