Share this News on Social Networking Pages

काठमाण्डौ,२३ माघ ।
देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको र हिमाली जिल्लामा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । यी क्षेत्रमा पश्चिमी वायुको प्रभाव हिजोदेखि नै परेको थियो ।

प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने मौसमविद् अर्यालले बताए । यो प्रणालीका कारण देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिए पनि अनुमान गरिएभन्दा प्रणाली कमजोर बन्दै गएकाले हल्का वर्षा मात्रै हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालको भनाइ छ ।

पश्चिमी वायुको प्रणाली मध्य क्षेत्रमा समेत आइसक्नु पर्नेमा पश्चिमी क्षेत्रमा नै अड्किएको उनले बताए । आज काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्व क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ ।

पश्चिमका क्षेत्रबाट भने भोलि प्रणाली हट्ने अनुमान गरिएको छ । पश्चिमी वायुको प्रणाली पर्सिदेखि हट्ने र त्यसपछि गर्मी सुरु हुने मौसमविद्ले बताएका छन् ।

त्यस्तै बझाङका दर्जनौँ ठाउँमा दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टालगायत अन्य अन्य ठाउँहरुमा वर्षा र हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका त्यहाँका किसानलाई वर्षाले धेरै राहत पुर्याएको छ । जिल्लाको १२ वटै पालिकाका उच्च भूभागमा हिमपात भएको छ भने सबै पालिकाहरुमा पानी परेको छ । हिजो रातिदेखि वर्षा र हिमपातका कारण बझाङ जिल्लाको विद्युत सेवा रातिदेखि नै अवरुद्ध भएको छ ।