बुटवल,११ मंसिर ।
बुटवल उपमहानगरपालिका नगरसभाको २० औं अधिवेशन तीन विधेयक तथा बिभिन्न प्रस्ताव पारित गदै शुक्रबार सम्पन्न भएको छ ।

शुक्रबार बसेको नगरसभाको २० औं अधिवेशन अन्तर्गत दोस्रो बैठकले तीन विधेयक तथा बिभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

बिभिन्न क्षेत्रमा उत्कृष्ठता हाशील गर्दै आएको बुटवल उपमहानगरपालिका नगरसभाको २० औं अधिवेशन सम्पन्न गर्ने देशभरका पालिकाहरुमध्ये सम्भवत पहिलो बनेको छ ।

बैठकले विनियोजन ऐन,२०८३ लाई संशोधन गर्न बनेको विधेयक,छाडा पशु चौपाया नियन्त्रण र र ब्यवस्थापन गर्न बनेको विधेयक,२०८३ र दलित सशक्तीकरण विधेयक २०८३ माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै बैठकले रुपन्देहीको बेलहिया देखि मुस्ताङको कोरलासम्मका पालिका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र भारतका केही शहरका मेयरसहितको सम्मेलन आगामी पौष २१ गते आयोजना गर्ने,युवाहरुलाई सीपसँग जोड््दै रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने,महिलाहरुका लागि सीपसहित सम्मानजनक पेशामा सहभागि गराउने कार्यक्रम सञ्चालन गर्ने,जेष्ठ नागरिकहरुलाई घरघरमै स्वास्थ्य चेकजाँचलगायतका सेवा दिने,बालबालिका र गर्भवती महिलाका लागि पोषणसहित स्वास्थ्य सुविधा उपलब्ध गराउने,शिक्षा र खेलकुदमा उत्साहजनक लगानी गर्ने,बुटवल–११ बुद्धनगर पुलदेखि मगरघाटसम्म तिनाउ नदिमा स्टीमर चलाउन तिनाउ जलासय निर्माण,तिनाउ नदीमा आरती केन्द्र निर्माण,सेमलार कृषि मण्डी निर्माण प्रक्रिया अगाडी बढाउने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी बैठकले पुरानो बटौली–नदी किनारमा १२ फुटे पर्खाल निर्माण गरी सन्ध्याकालीन कफि फुल्की सेन्टर सञ्चालन गर्ने,बिटी आईलाई बुटवल उपमहानगरपालिका मातहत ल्याई ब्याचलर डिग्रि आइ टी इन्जिनियरिङ कलेज सञ्चालन गर्ने,बुटवल माविमा बि टी आई सञ्चालन गर्ने,बुटवल मावि देखि नुवाकोट सम्म पैदल मार्ग निर्माण कार्य यथासीघ्र सम्पन्न गर्ने,बुटवल–३ देखि ८ वडासम्मको हाइटेन्सन लाईन खाली भइसकेकोले त्यस क्षेत्रका जग्गाको नक्सा पास सम्बन्धी आवस्यक प्रक्रिया अगाडी बढाउनेलगायतका प्रस्ताव पारित गरेको छ ।

यसअघि बैठकलाई सम्बोधन गदै नगर प्रमुख खेलराज पाण्डेयले कार्यकालको अन्तिम नगरसभासम्म आईपुग्दा बुटवलको समग्र विकासले फड्को मारेको भन्दै केही क्षेत्रमा देशभरका पालिकाहरुमध्ये उत्कृष्ठ नतिजा निकाल्न सफल भएको बताए । चुनाबका बेला आफुहरुले जनतासामु गरेका प्रतिवद्धताहरुमध्ये केही पुरा भएको र केही पुराहुने क्रममा रहेको भन्दै नगर प्रमुख पाण्डेयले चालु आर्थिक बर्षको वजेट कार्यान्वयन भइसक्दा बुटवलको मुहार फेरिने दाबी गरे ।
बुटवलको सुकुम्बासी तथा अब्यवस्थित बसोबासी समस्या धेरैजसो समाधानको क्रममा रहेको भन्दै उनले बुटवलका १० हजारबढी सुकुम्बासी तथा अब्यवस्थित बसोबासको जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण गर्न सकिनेगरी काम भएको जानकारी गराए ।