बुटवल,१३ वैशाख ।
ट्राफिक प्रहरीले नियम बिपरित सवारी साधनमा जडान गरिएका फग लाइट तथा प्रेसर हर्न (सोली) हटाउने अभियान सञ्चालन गरेको छ ।

अभियानका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म बुटवल उपमहानगरपालिका–३ चिडियाखोला क्षेत्रमा करिब १५० वटा सवारी साधनमा जडान गरिएका फग लाइट र प्रेसर हर्न हटाउन लगाइएको छ ।

ट्राफिक प्रहरी सहायक निरीक्षक मधुसुधन बन्जाडेको कमाण्डमा खटिएको टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सवारी साधनमाथि निगरानी गरेको हो । त्यस क्रममा चालकहरुलाई ट्राफिक नियमबारे सचेतना दिइएको थियो ।

प्रहरीका अनुसार यस्तो अभियानले ध्वनि प्रदूषण नियन्त्रण तथा सडक सुरक्षा मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै,आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।