पाल्पा,२ बैशाख ।
नयाँ बर्षकाे दिन मंगलबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई मध्ये एक युवक बुधबार मृत फेला परेका छन् । अर्का एक जना अझै बेपत्ता रहेका छन् । उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मंगलबार नयाँ वर्षका दिनमा साथीभाईसंग पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङ स्थित कालीगण्डकी नदीमा गएका बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल (मदन) मृत अवस्थामा फेला परेका हुन् । उनको शव कालीगण्डकी नदीको बीच भागमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता ३९ वर्षीय शरण भुसालको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार करिब ५ बजेको समयमा पौडी खेल्ने क्रममा डुबी वेपत्ता भएको स्थानीयले जानकारी दिएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दाले कालीगण्डकी नदी किनारमा खोजतलास गरेको पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।
बुधबार बिहानैदेखि कालीगण्डकी नदीमा पुनः खोजीकार्य जारी रहेको प्रहरी नायव उपरीक्षक चाैधरीले बताए । वेपत्ता बस्याल चन्द्र मावि चापपनीमा इन्जियिनरतर्फका शिक्षक हुन् । मृतक भुसाल हालै मात्र विदेशबाट छुट्टीमा घर आएका थिए ।








