बुटवल,३० चैत ।
तिलोत्तमा मिडिया क्लबले प्रदान गर्ने ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार पत्रकार रेखा भुसालले प्राप्त गरेकी छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले आफ्ना बुबाआमाको स्मृतिमा तिलोत्तमा मिडिया क्लबको सहकार्यमा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।
पुरस्कारको राशी २५ हजार रुपैंयाँ रहेको छ । सोमबार तिलोत्तमाको ड्राइभरटोलमा आयोजित कार्यक्रममा उक्त पुरस्कार पत्रकार भुसाललाई प्रदान गरिएको हो ।
नागरिक दैनिकमा आवद्ध पत्रकार भुसाल दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा क्रियाशील रहेकी छा् ।
उनलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य धर्मेन्द्र झा, पुरस्कारका संस्थापक मोहन चापागाईं,महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलको सहभागितामा पुस्कार प्रदान गरिएको थियो । त्यसअवसरमा पुरस्कृत पत्रकार भुसालले पुस्कारले आफूलाई थप जिम्मेवार भएर पत्रकारितामा क्रियाशील रहन प्रेरणा दिएको बताइन् ।
पत्रकार यमलाल भुसाल संयोजक तथा ईन्दिरा अर्याल र टीआर शर्मा सदस्य रहेको मूल्यांकन समितिको सिफारिसको आधारमा यस वर्षको ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार २०८२ भुसाललाई प्रदान गरिएको हो ।
तिलोत्तमाका पत्रकारलाई भाषा र शैलीको विषयमा प्रशिक्षण
तिलोत्तमा मिडिया क्लबको आयोजनामा सोमबार पत्रकारहरुको क्षमता विकास कार्यक्रम तिलोत्तमाको ड्राइभरटोलमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले ‘पत्रकारिता : भाषा, शैली सिद्धान्त र हाम्रो अभ्यास’ विषयमा सहजीकरण गरेका थिए । पत्रकारहरुको भाषिक दक्षता अभिवृद्धिका लागि क्लबले तिलोत्तमा नगरपालिकाको सहयोगमा क्षमता विकास कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिका सधै प्रतिवद्ध रहने स्पष्ट पारे । संघीय सरकारले ल्याएका सबै नीति नियम र निर्णय कार्यान्वयन गर्न स्थानीय सरकारले नसक्ने चर्चा गर्दै नगर प्रमुख खाँणले जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गरे । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले पत्रकारिता जिम्मेवार पेशा भएकोले यस्ता कार्यक्रमले पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले वर्तमान सरकारले सञ्चारमाध्यमप्रति विभेदकारी नीति लिएको चर्चा गर्दै यसका विरुद्ध सबै पत्रकारहरुले आवाज उठाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले संघीय सरकार मिडियाप्रति अनुदार देखिएको वर्तमान अवस्थामा स्थानीय मिडियालाई जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएको बताए ।
कार्यक्रममा तिलोत्तमा क्षेत्रमा बसोबास गर्ने तथा यहाँका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष बीपी गौतमको अध्यक्षता, सचिव कल्पना तिवारीको सञ्चालन एवं उपाध्यक्ष टिआर शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।









