बुटवल,१ चैत ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टाेप अस्लामीकाे चुनाव खर्च एक लाखभन्दा कम रहेको छ ।
पार्टीका महासचिव समेत रहेका युवा नेता अस्लामीले सार्वजनिक गरेको खर्च विवरणमा चुनाव खर्च जम्मा ८५ हजार ८२६ मात्रै उल्लेख गरेका हुन् ।
उनलेे आइतबार सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको चुनाव खर्च विवरणमा सबैभन्दा धेरै प्रस्ताव तथा अपिल छपाईमा १५ हजार २० रूपयाँ, आफुसमेत बास बसेकाे र खाना खर्च बापत १२ हजार ९९६ र सबैभन्दा कम रेडियो प्रचारप्रसारमा तीन हजार खर्च भएको उल्लेख छ ।
उल्लेखीत विवरण मध्ये १० हजार उम्मेदवार मनाेनयन दर्ता बापत लाग्ने दस्तुर हो भने इन्धनमा १० हजार खर्च भएको उनलेे जनाएका छन् ।
चुनावमा एक लाख रूपयाँ पनि खर्च नहुनुको कारण बारे लुम्बिनीपाटी अनलाइनकाे जिज्ञासामा महासचिव अस्लामीले भने- `प्रचारप्रसारमा हिड्ने नेता कार्यकर्ताहरूले खाना र नास्ता खर्च पनि आफै बेहाेरेेका कारण पनि खर्च कम भएको हो ।´ यद्यपि उल्लेखित रकम पनि आफ्नो लागि ठूलो भएको उनको भनाइ छ ।









