बुटवल,२४ मंसिर ।
जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते देवदहका विभिन्न स्थानमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले रूपन्देहीको देवदहबाट १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवदहका ९ जना र एक जना अर्घाखाँची स्थायी घर भई हाल देवदहमा बसाेबास गर्ने युवक रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रूपन्देहीको देवदह ५ कोलुवा निवासी सुन्दर दर्लामी, देवदह ७ मदनग्रामका दिपक खरेल, देवदह ७ कै विशाल सुवेदी, देवदह ७ तल्लो खैरेनीका विमल ढकाल र देवदह ७ सगरमाथा टोल हरिराम सापकोटा रहेका छन् ।
यसैगरी देवदह ९ घोडाहाका पवन गुरुङ्ग, सोही स्थानका धिरज थापा, गौरव श्रेष्ठ र केशव सारुलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै अर्घाखाँचीकाे पाणीनी गाउँपालिकाका स्थायी ठेगाना भएर देवदहको एक सुनचाँदी पसलमा काम गर्ने दिपक विक समेत पक्राउ परेका छन् ।
उनीहरुबिरूद्व आगजनी, तोडफोड, चोरी लगाएतका मुद्दामा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले रूपन्देहीको देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलको घरमा आगजनी तथा लुटपाट गरेका थिए भने,नेकपा एमालेको नगर पार्टी कार्यालय, माओवादी केन्द्रको पार्टी कार्यालय र देवदह उद्योग व्यापार संघमा आगजनी एवम् क्षती पुर्याएका थिए । देवदह ७ स्थित मदन आश्रीत पार्कमा रहेका शालिकमा समेत प्रदर्शनकारीहरूले क्षति पुर्याएका थिए ।








