गुल्मी,१३ असार ।
गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा मदाने गाउँपालिका–६ घ्युउपानीकी करिब ३१ वर्षीया लक्ष्मी थापा रहेकी छिन् । स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी थापाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।

उनी बिहीबार दिउँसो करिब ४ बजे घरबाट घाँस काट्न जंगल गएकी थिइन् । साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा सोही वन क्षेत्रको किरा चौर भीरबाट करिब १५/२० मिटर तल खसेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जनाएको छ ।

प्रहरीका अनुसार मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा छन् भने उनका दुई छोरा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।