पाल्पा,१२ असार ।
सासूको हत्या आरोपमा २१ वर्षपछि प्रहरीले ज्वाईलाई पक्राउ परेका छन् ।

२०६१ साल असार १९ गते पाल्पाको साविक सिलुवा गाउँ विकास समिति–९, हाल पूर्वखोला गाउँपालिका–१, गुनडाँडामा ५५ वर्षीया सासू चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई २१ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्या गरी फरार पूर्णबहादुर लामो समयदेखि भारतमा लुकिछिपी बसेका र बिहीबार नेपाल फर्किने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । सार्कीलाई बिहान ४ बजेको समयमा बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा भन्सार नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक चिनीसराको छोरीले दोस्रो बिहे गरेर अन्यत्र गएपछि झगडा हुँदा पूर्णबहादुरले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकाे प्रमुख पवनकुमार भट्टराईले जानकारी दिए । हत्या गरेर भारततर्फ भागी फरार रहेका पुर्णबहादुरलाई धेरै मिहिनेतपछि मात्र पक्राउ गर्न सफल भएकाे प्रहरी प्रमुख भट्टराईकाे भनाइ छ ।

छोरी दोस्रो विवाह गरेर अर्कैसँग गएपछि उनीहरूबीच झगडा सुरु भएको थियो । झगडा बढ्दै गएपछि हत्याको रूप लिएका पूर्णबहादुरले स्वीकार गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । घर नजिकै रहेको मकैबारीमा लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

पूर्णबहादुरलाई मुलुकी ऐन,२०२० को ज्यानसम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १४ (१) बमोजिम ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।