प्रकाश खनाल
बुटवल,११ असार ।
बुटवल उपमहानगरपालिकाले नगरवासीलाई सीपसँग जाेडेर स्वरोजगार तथा आत्मनिर्भर बनाउने अभियानलाई तिब्रता दिएको छ ।

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनसँगै उपमहानगरपालिकाले सीपविकास र स्वराेजगार मार्फत आत्मनिर्भर बनाउने कार्यमा जाेड दिएको हो ।

सानातिनादेखि ठूला उद्योगहरूले दक्ष कामदार नपाउने र देशमा बेरोजगार समस्या बढ्दै जाने अवस्थालाई मध्यनजर गरि बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीप विकास तथा क्षमता अभिबृद्वि सम्बन्धि कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

हचुवाकाे भरमा तालिम लिने भन्दा पनि स्वदेश तथा विदेशमा के कस्ता जनशक्तिको माग छ भन्ने बिषयमा अध्ययन गरेर साेही अनुसारको सीपमुलक तालिम तथा दक्षता अभिबृद्दि तालिम लिन जरुरी रहेको भन्दै नगर प्रमुख पाण्डेयले उपमहानगरपालिकाले समाजको आवश्यकता र औचित्यताकाे आधारमा विभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको जानकारी दिए ।

बुटवललगायत यस क्षेत्रका सुनचाँदी पसलमा काम गर्ने हजारौं कालिगड भारतीय रहेको भन्दै उनलेे घरमै बसेर गर्न सकिने सुनचाँदीका गरगहना बनाउने सीप नेपालीले नसिक्दा देशको ठूलो धनराशि बाहिरिएको बताए ।

हेर्दा सामान्य लाग्ने तर राेजगारी र आत्मनिर्भर बन्न ठूलो महत्व राख्ने सानातिना काममा हाम्रो ध्यान नजाने गरेको भन्दै नगर प्रमुख पाण्डेयले पछिल्लो समय बुटवल उपमहानगरपालिकाले सुनचाँदीका गहना बनाउने तालिम दिन थालेको उल्लेख गरे ।

पछिल्लो समय युवा विद्यार्थीहरूमा नेपालमा केही हुँदैन, १२ कक्षा पढिसकेपछि थप अध्ययन र राेजगारीका लागि बिदेशै जानुपर्छ भन्ने गलत छाप बसेकाे बताउदै उनलेे युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउन समयानुकूल सीपविकास तथा क्षमता अभिबृद्वि कार्यक्रम आवश्यक रहेकोमा जाेड दिए ।

बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले उपमहानगरपालिकाद्वारा सञ्चालित विभिन्न किसिमका सीपमूलक तालिमले गृहिणी महिलादेखि बेरोजगार युवायुवतीलाई स्वराेजगार बनाउनुका साथै आयआर्जन बृद्विमा ठूलो योगदान दिएको बताइन् ।

नगरवासीकाे आयआर्जन बृद्वि हुने खालका यस्तो तालिम दिनुपर्याे भनी सामुहिक माग भएमा उपमहानगरपालिकाले साेही अनुसारको तालिम दिने पनि उनलेे जानकारी दिइन् ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले पनि उपमहानगरपालिकाले प्रदान गर्दै आएका सीपमूलक तालिम प्रभावकारी देखिएको दाबी गरे ।

नगरवासीकाे जिवनस्तर माथि उठाउने जिम्मेवारी र दायित्व स्थानीय सरकारको रहेको भन्दै उनलेे कार्यक्रमकाे प्रभावकारीता,आवश्यकता र औचित्यताकाे आधारमा नीति तथा योजना र बजेट बिनियाेजन गर्दै आएको बताए ।

उपमहानगरपालिकाले सञ्चालन गरेका सीप विकास र रोजगारमूलक तालिमहरूले स्थानीय युवायुवती,गृहिणी महिला र बेरोजगारहरूलाई रोजगारीमा जोड्नेदेखि उद्यमशील बन्न प्रेरित गरेको उपमहानगरपालिकाका राेजगार संयोजक अरबिन्द पाण्डेकाे भनाइ छ ।

उपमहानगरपालिकाले सुरु गरेको सीपमूलक तालिम कार्यक्रम अन्तर्गत पहिलो चरणमा ५ सय बढी युवालाई विभिन्न विषयमा तालिम दिइएको छ । उपमहानगरपालिकाले एयर कण्डिसन (एसी) र फ्रिज मर्मत, प्लम्बिङ, टायल मार्बल लगाउने तालिम समेत दिएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले युवाहरुलाई बारिष्टा, कम्प्युटर हार्डवयर एण्ड नेटवर्किङ, मोबाईल मर्मतदेखि परम्परागत सीपको प्रवद्र्धनको लागि जुत्ता बनाउने तालिम,सुनचाँदीका गहना बनाउने, बाध्यबाधन तालिम,सिलाईकटाई तालिम, ब्यूटीसियन तालिम, अडियो–भिडियो, ड्रोन उडाउनेसम्मको तालिम दिइएको उपमहानगरपालिकाकाे तथ्यांकमा उल्लेख छ ।

बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने तालिमहरुमध्ये वारिस्टा तालिममा युवाहरुको आकर्षण बढेको रोजगार संयोजक पाण्डेको भनाइ छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ६० जनालाई बारिष्टा तालिम दिएको थियो ।

बारिष्टा तालिम लिएकामध्ये केही व्यक्तिले पाँचतारे होटलमा काम गरिरहेकाे बताइएको छ ।

यसैबीच बुटवल उपमहानगरपालिकाद्वारा गतबर्ष आयोजित श्रमाधान रोजगार मेलाबाट करिब ७ सय युवाले प्रत्यक्ष रोजगारी पाएकाे उपमहानगरपालिकाकाे राेजगार शाखाले जनाएको छ ।

श्रमाधान राेजगार मेलाले स्थानीय उद्योग, होटल, निर्माण र सेवा क्षेत्रका कम्पनीहरू र राेजगारकाे खाेजिमा रहेका युवाहरूलाई एकै थलोमा राखेर अन्तरक्रिया गराउदा राेजगारदातालाई कामदार र बेरोजगारलाई राेजगारी प्राप्त गर्न सहज भएको उनको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाले चालू आर्थिक बर्षकाे कार्यक्रम अनुसार यही असार महिनामा राेजगार मेला सञ्चालनकाे तयारी गरेको छ ।