बुटवल,१० असार ।
अस्पताल बिकास समिती बिघटन गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारको २०८२ वैशाख १६ गते र २०८२ जेठ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतको अन्तरिम आदेश सँगै लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका नयाँ पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।
गत वैशाख १६ गते बसेकाे लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल सहित राप्ती प्रादेशिक अस्पताल र पाल्पाको रामपुर अस्पताल विकास समिति सहित १४ वटा अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको थियो ।
आफ्नो नियुक्तिको पदावधि नसकिदै प्रदेश सरकारले अस्पताल विकास समिति विघटन गरेर अन्याय गरेकोले उक्त निर्णय बदर गर्न भन्दै राप्ती प्रादेशिक अस्पतालका तत्कालीन अध्यक्ष पदम प्रसाद न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा न्यौपानेले लुम्बिनी प्रदेश सरकारले वैशाख १६ गते आफूलाई हटाएर जेठ ५ गते स्वास्थ्यमन्त्रिस्तरको निर्णयबाट महेन्द्र राज लामिछानेलाई नियुक्ति गरेकोले उक्त निर्णय समेत बदर गर्न माग गरेका थिए ।
सर्वोच्चका न्यायधिश महेश शर्मा पौडेलको एकल इजलासले लुम्बिनी प्रदेश सरकारको वैशाख १६ गतेको अस्पताल विकास समिति विघटन गर्ने निर्णय र २०८२ जेठ ५ गतेको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश गरेको छ ।
सर्वोच्चले यो मुद्दाको टुङ्गो नलागे सम्म उक्त निर्णय कार्यान्वयन नगर्न समेत आदेश गरेको हो ।
अदालतकाे यो आदेश सँगै वैशाख १६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका विभिन्न ११ जिल्ला अस्पताल र लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल सँगै पाल्पाको रामपुर अस्पताल विकास समितिका पदाधिकारीहरूको पुनर्बहाली भएका छन् ।
वैशाख १६ गते अस्पताल विकास समिति विघटन गरेको लुम्बिनी प्रदेश सरकारले जेठ ५ गते कांग्रेस र एमाले बिच भागबन्डा गरेर जेठ ५ गते स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट नयाँ नियुक्ति गरेको थियो ।
प्रदेशको सबैभन्दा ठुलो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा अजयमान श्रेष्ठ सँगै गुल्मी जिल्ला अस्पतालमा,राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा युवराज खनाल, अर्घाखाँची जिल्ला अस्पतालमा बलाराम मिश्र अध्यक्ष, कपिलवस्तु जिल्ला अस्पतालमा रन्जिकुमार बर्मा, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा जगदीश चौधरी र भालुवाङ अस्पताल दाङमा एमालेबाट सूर्यप्रकाश शर्मा नियुक्त भएका थिए । उनीहरू सबै एमालेको कोटामा नियुक्त भएका हुन् ।
त्यसै गरी दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्रराज लामिछाने, प्युठान जिल्ला अस्पतालको अध्यक्षमा कृष्णप्रसाद बसेल, रोल्पा जिल्ला अस्पतालमा शेरबहादुर थापा, भीम अस्पताल भैरहवामा कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा अजय कर्माचार्य, रुकुम पूर्व अस्पतालमा लोकेन्द्र शाह नियुक्त भएका थिए । उनीहरू सबै काँग्रेसको कोटाबाट नियुक्त भएका हुन ।








