बुटवल,९ असार ।
लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीलाई जिल्लामा हुने पार्टीका कार्यक्रममा सहभागी नगराउने भएको छ ।

पार्टी सभापति अब्दुल कलामद्धारा सोमवार जारी विज्ञप्तिमा यही असार १ गते लुम्बिनी सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यमा कपिलवस्तु जिल्लालाई वाईपाास गरेको भन्दै बिराेध स्वरूप पार्टीबाट प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरूलाई जिल्लामा हुने पार्टी तथा अन्य सार्वजनिक कार्यक्रममा नबाेलाउने जनाएको हो ।

प्रदेश सरकारले ल्याएको बजेटमा कपिलवस्तु जिल्लाको समग्र विकास योजनाहरु न्यून रहेको जनाउँदै विज्ञप्तिमा बजेट संघीयताकाे मर्म र भावना विपरीत पहुँचवाला, स्वयम मन्त्रीको क्षेत्र जिल्लामा मात्र बढी योजना राखिएकाे, पार्टीको निर्णयलाई समेत नमानी आफ्नो मनमानी गरेको हुँदा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरुलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय गरिएको उल्लेख छ ।

यसअघि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समापति अमर सिंह पुनले पनि विज्ञप्ति जारी गरी बजेट प्रति असहमति जाहेर गरेका थिए । समग्रमा लुम्बिनी सरकारले ल्याएको बजेट प्रति सरकारको नेतृत्व गरेको एमालेका प्रदेश सांसदले पनि असहमति जनाएका छन् ।