दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध भएपछि सवारी आवागमन ठप्प

बुटवल,९ असार ।
पुर्व पश्चिम राजमार्गकाे बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि अवरुद्ध भएपछि सवारी आवागमन पुर्ण रूपमा अबरुद्ध भएको हो ।

साे सडकखण्डमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएकामा आज बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी –३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्बका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । बर्षाका कारण हाल दाउन्ने दुम्कीवास खण्डमा सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयीखोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि बगाएको थियो । डाइभर्सन बगाएपछि होल्डमा राखिएका साना तथा मध्यम सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे मार्ग प्रयोग गरी आवतजावत गराइँदै आएको थियो । त्यो मार्ग पनि अवरोध भएपछि अहिले यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।