बुटवल,८ असार ।
बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि बुटवलका बासिन्दालाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सेवा केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् । बुटवल उपमहानगरपालिकाको पूरानो भवन परिसरमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र स्थापना भएपछि बुटवलबासीलाई सहज हुने उनले बताए । उनले बुटवलमा रहेको इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड र लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न बुटवल उपमहानगरपालिकाले सेवा केन्द्र सञ्चालनका लागि अगुवाई गरेको बताए ।

‘जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको भीड र सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था थियो, उनले भने-त्यसलाई मध्यनजर गरेर हामीले यो पहल गरेका हौं ।’ उनले आवश्यकताअनुसार थप सेवा केन्द्र सञ्चालन गर्न सकिने बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्यालले बुटवल उपमहानगरका बासिन्दालाई लाभ हुने गरी सेवा केन्द्र सञ्चालन गरिएको बताए । बुटवलका सेवाग्राहीकाे समस्या लाई मध्यनजर गरी बुटवल उपमहानगरपालिकाको विशेष चासो र अगुवाईका कारण सेवा केन्द्र सञ्चालन गर्न सम्भव भएको उनको भनाइ थियो ।

नागरिकको तथ्याङ्क व्यवस्थित र सुलभ सरकारी सेवा प्रदान गर्ने उद्देश्य सहित सरकारले राष्ट्रिय परिचयपत्रको सुरुवात गरेको हो ।

राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो ।

राष्ट्रिय परिचयपत्र लागु भएपछि नेपालबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा पनि परिचयपत्र पेस गर्नुपर्ने जनाइएको छ ।
साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रूपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गरेको छ ।