बुटवल,८ असार ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्बमन्त्री सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध बैंकिङ कसुरको मुद्दामा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
पर्सा जिल्ला अदालतले १६ जेठमा पक्राउ पुर्जी जारी गरिदिएपछि पर्सा प्रहरीले पक्राउ गरी पठाइदिन भन्दै बर्दिया प्रहरीलाई पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले उक्त नामको व्यक्तिविरुद्ध आवश्यक अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।
पर्सा प्रहरीका अनुसार उनीविरुद्ध आशा कुमारी चौहानले २ लाख ७५ हजार रुपैयाँ सापटी लगेर नतिरेको र रकम नभएको बैंक खाताको चेक दिएको भन्दै उजुरी दिएकी छन् ।
रायमाझी जनमत पार्टीबाट निर्वाचित समानुपातिक प्रदेश सभा सदस्य हुन् ।
यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टीबाट समानुपातिक प्रदेश सभा सदस्य बनेकी रायमाझी मन्त्री समेत भएकी थिइन् ।






