विनयी खोलाकाे डाइभर्सन बाढीले पटकपटक बगाएपछि अब डाइभर्सन नबनाइने

नवलपरासी,७ असार ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड असार १६ गतेपछि मात्रै सुचारू हुने भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्किबासमा निर्माणाधीन पुल असार १६ गतेदेखि मात्रै सञ्चालन हुने भएकोले त्यतिबेलासम्म बुटवल–नारायणगढ सडकखण्ड अबरुद्ध रहने प्रशासनले जनाएको छ ।

गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि विनयी खोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले पटकपटक डाइभर्सन बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगर्ने र दुम्किबास पुल सञ्चालनमा आएपछि मात्रै सवारी आवागमन सुचारु हुने भएको हो ।

गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनःडाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए । जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक–पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्नुकाे विकल्प नभएको निष्कर्ष निकालिएको उनलेे बताए । निर्माणाधीन दुम्कीवास पुल असार १६ गतेदेखि सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले साे समयसम्म वैकल्पिक सडक प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ । तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ । वर्षा सुरू भएसँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारीसाधन गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

साे सडकखण्डमा विगत पाँच दिनदेखि मालवाहक सवारीसाधनबीच बाटोमा रोकिएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन् । अहिलेको अवस्थामा मालवाहक सवारी चलाउन सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अबरुद्ध हुँदा धेरै समस्या सिर्जना भएका छन् । निर्माणको लागि भत्काइएको सडक वर्षाका कारण हिलाम्य हुनु स्वाभाविक भए पनि ठेकेदारको लापार्वाहीले समस्या हुनु दुखद भएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । सडक विस्तारको नाममा विसं २०७५ देखि भत्काइएको बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने दुम्कीवास क्षेत्रमा सवारी आवागमन अस्तब्यस्त भएको छ ।