बुटवल,६ असार ।
रुपन्देहीकाे बुटवलमा एक युवाको हत्या भएको छ । बुटवल उपमहानगरपालिका–९,आईसीआई पथमा गुल्मीको मालिका गाउँपालिका–६ घर भएका २९ वर्षीय ज्योति विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शुक्रबार बिहान बिककाे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार बिकको हत्या उनकै साथीले ढुङ्गा प्रहार गरेर गरेका थिए ।

हत्या आरोपमा प्रहरीले अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थायी घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका–६ मा बसोबास गर्दै आएका बालकृष्ण न्यौपानेलाई पक्राउ गरेको छ । मानिसको हत्या भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धानका क्रममा न्यौपानेलाई बुटवल–८ सुख्खानगरबाट पक्राउ गरेको हो । उनले टाउकोलगायतका भागमा ढुङ्गाले प्रहार गरी विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सडक आश्रितका रूपमा रहेका उनीहरूबीच आपसी विवादका क्रममा झगडा हुँदा घटना भएको प्रहरीको अनुमान छ । अभियुक्तमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।