राेजगारी सिर्जनामा विशेष जोड
बुटवल,५ असार ।
बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीप तथा रोजगारमा विशेष जोड दिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवलमा सीपसहितको जनशक्ति र रोजगारी सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको उनले बताए । बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्रामस्थलका रूपमा स्थापित गर्ने नीति लिइएको पनि उनले बताए ।
‘घुमौं बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियान सञ्चालन गरिनेछ भने पर्यटकीय स्थलको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्री निर्माण गरिनेछ ।

बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, सुपादेउराली, रेसुंगा, पाल्पा, चितवन, त्रिवेणी, रिडी, भैरवस्थान, रानीमहल, आलमदेवी, सेतीवेणीजस्ता पर्यटकीय स्थलहरूसम्मको यात्रा तथा बुटवल–चितवन–पोखरा त्रिकोणीय पर्यटन प्रवर्द्धनका लागि आवश्यक अभियान सञ्चालन गरिने जनाइएको छ ।

बुटवलका महत्त्वपूर्ण पर्यटकीय स्थल जितगढी किल्ला, युद्ध संग्रहालय, पुरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, निलकण्ठबाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु संग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवल–नुवाकोट क्षेत्रमा पैदलमार्ग निर्माण गरी शिवपार्कका रूपमा स्थापित गरिनुका साथै कर्णेल उजिरसिंह पार्क, रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने जनाइएको छ ।

योगीकुटीदेखि चिडियाखोलासम्म, रामनगरदेखि तामनगरसम्म, बेलबास–बेथरी सडक, तामनगर–शुद्धोधन सडकलाई उज्यालो र हरियाली सडकका रूपमा सौन्दर्यीकरण गरिनेछ ।


बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुटवलका गृहिणी महिलालाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइनेछ । त्यसरी उत्पादन भएका सामग्रीलाई नगरको चिनोका रूपमा उपयोग गर्ने नीति लिइनेछ ।

गृहिणी महिलालाई एकजुट बनाई सीप र व्यवसायका माध्यमबाट आर्थिक उपार्जनमा अगुवाइ गर्ने नीति लिइनेछ । गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत टोल, वडा र नगरस्तरीय सञ्जाल र सीप तथा रोजगार परिषद् गठनको नीति लिइनेछ ।