नवलपरासी,५ असार ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजदेखि देशभर भ्रष्टाचारविरुद्ध जनचेतना तथा कारबाही अभियान सुरु गरेको छ ।

साेही क्रममा बिहीवार नवलपरासी जिल्ला पार्टीले परासीमा पत्रकार भेटघाट एंव भ्रष्टाचार बिरोधी अभियान उद्घाटन गर्दै स्थानीय सरकारदेखि प्रदेश हुदैं संघीय सरकार सम्मका व्याप्त भ्रष्टाचारको विरुद्ध निर्मम ढंगले संर्घष गर्ने घोषणा गरेको हो ।

साे पार्टीले जिल्लाका सातै स्थानीय सरकार, जिल्लास्थित सरकारी कार्यालय र सामाजिक तथा सामुदायिक संस्थालगायतमा भएका अनियमितताको सशक्त प्रतिरोध गर्ने प्रतिबद्धता गरेको छ ।

अभियान घोषणा तथा पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पछिल्लो समय विदेश रोजगारसम्बन्धी भिजिट भिसा काण्ड, स्थानीय सरकारका बिभिन्न काण्ड, नदीजन्य पदार्थको दोहन, खरिदमा भएका अनियमितता,मिटर ब्याज, सहकारी तथा लघुवित्तमा भएको अनियमितता लगायतका विषयमा ठोस अनुसन्धान र कारबाहीको माग गर्दै, भ्रष्टाचारमा संलग्नहरूलाई अब नछाडिने चेतावनी दिए ।

उनले भने, “तीनै तहका सरकारहरूमा भ्रष्टाचार संस्थागत भएको छ । सत्ता सञ्चालन गरिरहेका प्रमुख दलहरू– कांग्रेस, एमाले, माके लगायत सबै संसदवादीहरु गलत दिशामा लम्किरहेका छन् । अहिलेको असफल ब्यवस्थामा बसेर विकास सम्भव छैन । भष्ट्राचार न्युनीकरण हुदैन।”

नयाँ जनवादको खुडकिलो पार गरेर बैज्ञानिक समाजवाद स्थापना भए भष्ट्राचार निर्मुल नै हुने उनले दावी गरे ।

नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (बहुमत) र नेकपा (मशाल)बीचको एकतापछि पुनर्गठित पार्टीले हालसम्म देशभित्रका १६ ब्युरो र ७७ जिल्लामा डेढ महिनाको जनसम्बन्ध विस्तार अभियान सफलतापूर्वक सम्पन्न गरेको जनाउँदै भ्रष्टाचारमा संलग्नहरूलाई “जनस्तरमै कारबाही गर्ने” चेतावनी समेत दिएको छ ।

घोषणा कार्यक्रममा थापाले अबदेखि नदीजन्य पदार्थको अवैध दोहन, सहकारी घोटाला, वित्तीय संस्थाबाट गरिएको ठगी तथा जनविरोधी निर्णयहरूविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने बताए । उनका अनुसार, “अब भ्रष्टाचारको स्तरअनुसार सजाय जनताकै हातबाट हुनेछ । चेतावनी मात्र होइन, कारबाहीको चरण सुरु हुन्छ।”

पार्टीले देश भ्रष्टाचार सुचकांकमा १०७ औं अर्थात अति भ्रष्ट स्थानमा पुगेको उल्लेख गर्दै वर्तमान प्रणालीलाई जनविरोधी र जनतामाथि थोपरिएको ब्यवस्था भनेको छ ।
त्यस्तै पार्टीका अर्का केन्द्रीय सदस्य एंव जिल्ला सेक्रेटरी रवि पाण्डेय जिल्लाका सातैपालिका अन्तरगतका कार्यालय, जिल्लास्थित सरकारी कार्यालय र सामाजिक एंव सामुदायिक संस्थाहरु संस्थागत भष्ट्रचारमा लिप्त रहेको बताए ।

उनले कार्यक्रममा बोल्दै भने, “यहाँ हामी भष्ट्राचार बिरोधी अभियान उद्घाटनमा छौ । एकथरि मान्छेहरु आजै कसरी बिल मिलाएर अकुत सम्पति कमाउने भन्ने ध्याउन्नमा छन् । स्थानीय तहका जनप्रतिनिधि देखि नोकरसाह सम्मको धन्दा भष्ट्राचार भएको छ । त्यसैले भष्ट्राचार बिरुद्ध जनतालाई संगठित गरेर प्रतिकार गर्छाै ।”

युवा नेता पाण्डेयले अभियानको पहिलो चरणमा उपचारात्मक हुने समेत जानकारी दिए ।

“सबैभन्दा पहिला जनताबाट आएका भष्ट्राचारका घटनाहरुको उजु्री न्यायिक समितिमा छलफल गर्छाै । न्यायिक समितिमा मुद्धा आइसकेपछि त्यसलाई बिधि सम्मत रुपले अनुसन्धान गरेर भष्ट्राचारको प्रकृति र कसुर सम्बन्धमा अनुसन्धान गरेर निष्र्कष निकाल्छौ । त्यस पछि सम्बन्धित अभियुक्तलाई सम्झाउने र दुरुपयोग गरेर जम्मा गरेको सम्पति फिर्ता गर्न आग्रह गर्छाै । हाम्रो आग्रहलाई कमजोरी ठान्ने वा अटेरी गर्नेहरुलाई सामाजिक बहिष्कार गर्न जनतालाई आब्हान गर्दै दोस्रो चरणमा उनीको भण्डाफोर गर्नेर्छाै । भण्डाफोरबाट पनि अभियुक्त नसच्चिएमा उनीहरुलाई जनताले नै कारवाही गर्नेछन् । जनकारवाहीमा हामीले जनतालाई प्रोत्साहित गर्नेछौ।”

भष्ट्राचारमा संलग्नलाई जनकारवाही कस्तो हुन्छ भन्ने बारे भने पार्टीका कुनै नेताले पनि पूरा जानकारी दिन चाहेनन् । सेक्रेटरी पाण्डेयले भने“जनकारवाही यस्तै हुन्छ भन्ने हुदैन । कसुरको गम्भिरता हेरेर जनताले नै त्यसको निर्धारण गर्ने गर्नेछन । तर, जनताले चाहेको जस्तो कारवाही हुन्छ । जनस्तरमै कारबाही हुन्छ ।” यो अभियान जनसंर्घष, जनप्रतिरोध र जनबिद्रोहमा परिणत हुने समेत पार्टीले जिकिर गरेको छ ।