देउखुरी,५ असार ।
दाङको देउखुरीमा आजदेखि संसदीय रिपोर्टिङ सम्बन्धि पत्रकारहरूकाे क्षमता अभिबृद्वि कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमकाे एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरेका हुन् ।
साे अवसरमा सभामुख घर्ती मगरले सरकारले आफू अनुकूलको कानुन फास्ट ट्रयाक बाट बनाउने तर जनताका लागि आवश्यक पर्ने कानुन बनाउन ढिलाइ गर्ने प्रबृत्ति देखिएको भन्दै त्यस बिषयमा संसदीय मामिला पत्रकारहरूले कलम चलाउनुपर्नेमा जाेड दिए ।
नेपालमा संसदीय अभ्यासकाे थालनी भएको लामो समय भए पनि संविधान सभाबाट संविधान बनेर संघीय लाेकतान्त्रिक गणतन्त्र घाेषणा भएपछि मात्रै वास्तविक रूपमा संसदीय अभ्यास भएको उनको भनाइ थियो ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगर वेल घेरेकाे मात्रै नभएर वेल घेरे भन्ने बिषयमा पत्रकारहरूले जनतालाई सुसूचित गराउनुपर्ने बताए ।
बजेट माथिको छलफलमा सहभागी सांसदहरूले समग्र बजेटकाे बारेमा आवाज उठाउछन कि आफुले छानेका योजनाका बारेमा मात्रै कुरा उठाउछन् भन्ने बारेमा पनि पत्रकारहरूले कलम चलाउन जरुरी रहेको उल्लेख गरे ।
संघीय संसदीय मामिला पत्रकार समाज अध्यक्ष मनाेज सत्यालले
सभाको मात्रै नभएर बिषयगत समितिमा भएका छलफल तथा निर्देशन बारेमा पनि जनतालाई सुसूचित गराउने जिम्मेवारी र दायित्व संसदीय मामिला हेर्न पत्रकारहरूकाे भएको धारणा राखे ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष घनश्याम गाैतमकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य,संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष केेपी घिमिरे, महासचिव नारायण खड्का,पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले कार्यक्रमकाे उदेश्य र आवश्यकता बारे आ आफ्नो भनाइ राखेका थिए ।
लुम्बिनी प्रदेश सभा सचिवालयकाे सहयोग र संसदीय मामिला पत्रकार समाज लुम्बिनीकाे आयोजनामा भएको दुई दिने अभिमुखिकरण कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ६० जना पत्रकारहरूकाे सहभागीता रहेको छ ।






