बुटवल,५ असार ।
प्रतिबन्धित जडिबुटीहरु तथा गिद्ध सिङेसहित बुटवलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं-२ भिमसेन टोल आँखा अस्पताल नजिकै अहमद्दीन अलीको घर भाडामा लिई बस्दै आएका सुकबहादुर बुढा रहेका छन् । उनलाई प्रतिबन्धित जडिबुटीहरु गोदाम गरी राखेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुढाकाे काेठाबाट सेतो बोरामा र सेतो प्लाष्टिकको बाल्टीमा राखेको पाँच औले जस्तो देखिने २८ लाख १७ हजार ५०० बराबरको १६ के.जी. १०० ग्राम जडिबुटी र सेतो बोरामा राखिएको कुट्की जस्तो देखिने पदार्थ ९ केजी ६०० ग्राम, सेतो प्लाष्टिकमा राखेको गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद भएको छ ।
पक्राउ परेका वुढालाई थप अनुसन्धानको लागि सैनामैना सव- डिभिजन बन कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।






