नवलपरासी, ४ असार ।
मंगलबार रातिको बाढीले बगाएको बिनयी खोलाकाे डाइभर्सन निर्माण भएपछि केहीबेर अघिदेखि बुटवल-नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन भएको छ ।

दुम्कीवासको बिनयी खोलामा डाइभर्सन निर्माण गरेर बुधबार साढे ६ बजेबाट एकतर्फी यातायात सञ्चालन भएको हो ।

त्यहाँ अहिले बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडीमात्र चल्न दिइएको छ ।

दाउन्नेदेखि पश्चिम नवलपरासीको भूताहासम्म गाडीको जाम रहेका कारण पहिला पश्चिमबाट आउने गाडीलाई प्राथामिकता दिइएको उनले बताए । त्यसतर्फका आधा गाडी वारपार भइसकेपछि दुम्कीवास हुँदै पश्चिम बुटवलतर्फ जाने गाडी ओहोरदोहोर गराउने प्रहरीले जनाएको छ ।

दाउन्नेमा फसेका गाडी निकाल्न नसक्दा यहाँ ४५ किलोमिटर लामो जाम रहेको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डमा पर्ने पश्चिम नवलपरासीको बर्दघाटदेखि पुर्वी नवलपरासीको चोरामारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम लागेको हो ।

हिलोमा फसेका गाडीहरू निकाल्न नसक्दा आज बिहान ५ बजेदेखि नै गाडीहरूको जाम लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका इन्स्पेक्टर जनकराज बन्जराले जानकारी दिए ।
उनका अनुसार अहिले डाइभर्सन बनाएर भर्खरैबाट सडक सञ्चालन गरिएको छ ।