गुल्मी,३ असार ।
पहिरोका कारण अवरुद्घ कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको बर्लबा सडकखण्ड एकतर्फी संचालनमा आएको छ । सोमबार मध्याह्नदेखि अवरुद्घ सडक मंगलबार साँझबाट एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोर अन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका-६ बर्लबामा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । सोमबार दिनभर पहिरो खसिरहेका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
ठूलो चट्टानसहित खसेको सुख्खा पहिरोका कारण सडक सुचारु गर्न समस्या भएको थियो ।
सडक दुईतर्फी संचालन हुन अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
सडक अवरूद्ध हुँदा सवारीसाधन वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका थिए । चट्टानसहितको पहिरो खसेपछि कालीगण्डकी करिडोर हुदै गुल्मी, पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भएको थियो ।






