दाङ,१ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले
आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
कूल बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ चालू खर्चका लागि छुट्याइएको छ । जुन कुल बजेटको ३० दशमलव ८८ प्रतिशत हो ।
पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ (८ दशमलव ८० प्रतिशत) छुट्याइएको छ ।
बजेटले कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, उद्यमशीलता प्रवर्द्धन, दिगो पूर्वाधार विकास, समावेशी सामाजिक न्याय, उत्पादनमुखी रोजगारी र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।






