बुटवल,१ असार ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट वक्तव्यसहित छ वटा महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ ।
आइतबार दिउसाे राप्ती उपत्यकाको देउखुरीमा बसेकाे बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई सवीकृत गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ लाई स्वीकृति दिएको छ । यस नियमावलीले प्रशासनिक सुधार र कार्यक्षमता बढाउने विश्वास लिइएको छ । बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्डमा गरिएको पहिलो संशोधनलाई पनि बैठकले पारित गरेको छ ।
यसका साथै, प्रदेश सञ्चित कोषबाट खर्च र विनियोजन गर्ने सम्बन्धी विधेयक, र आर्थिक प्रस्ताव कार्यान्वयन गर्न आवश्यक विधेयकको मस्यौदालाई पनि प्रदेश सभामा पेस गर्न स्वीकृती दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
त्यस्तै,सामयिक कर असुली ऐन,२०८२ अन्तर्गत जारी गरिएको सूचित आदेशलाई पनि बैठकले अनुमोदन गरेको छ ।
चालू आर्थिक बर्षमा ३८ अर्ब ३९ करोडको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी पनि सोही हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । यसअघिका वर्षहरुमा घाटा बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको लागी अंक घटाएर बजेट ल्याउने तयारी गरेको थियो । यद्यपि, अन्तिम समयमा बजेटको आकार बढाएको बताइएको छ ।
बजेट प्रस्तुत गर्ने प्रयाेजनका लागि आज दिउँसो ३ बजे बाेलाइएकाे लुम्बिनी प्रदेश सभाको बैठक ५ बजेका लागि सारिएको थियो ।






