बुटवल,१ असार ।
लुम्बिनी प्रदेश सहित सातै प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै छन् ।
लुम्बिनी,सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आज प्रदेश सभामा
आर्थिक वर्ष २०८२/०८३ का लागि आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्ने तयारी छ ।
संविधानअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
लुम्बिनी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाकाे बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ मा प्रस्तुत गरेको २९ अर्ब २६ करोड ५९ लाख बराबरको हाराहारीमै नयाँ बजेट ल्याउने तयारी गरेको छ । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले नयाँ बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संघीय राजधानी रहेको बागमती प्रदेशमा भने आज दिउँसो ३ बजे बस्ने सभा बैठकमार्फत करिब ६८ अर्बको बजेट प्रस्तुत गरिने तयारी छ । अघिल्लो वर्ष बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड थियो ।
मधेश प्रदेशले गत आर्थिक वर्षमा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यस्तै कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए ।
यसपटक अधिकांश प्रदेशले चालू बजेटकै हाराहारीमा बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारको ढाँचाअनुसार बजेटको आकारमा सुधार, खर्चको प्रभावकारिता र आन्तरिक स्रोत परिचालन मुख्य प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।






