बुद्ध मुर्ति समेत ताेडफाेड

बुटवल,२९ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगञ्ज स्थित जनशक्ति टोल साविकको जनसंघर्ष टोलले संरक्षण गर्दै आएको
बुद्ध मुर्ति स्थापना गरिएको जग्गा समेत अनधिकृत रूपमा बिक्रीवितरण भएको पाइएको छ ।

बाैद्व मन्दिर स्थापनाका लागि बुद्ध मुर्ति राखेर कम्पाउण्ड बाल लगाई संरक्षण गरिएको जग्गा केही ब्यक्तिहरूले अनधिकृत रूपमा कब्जा गर्न लागेको भन्दै स्थानीय जनता संरक्षणमा जुटेका छन् ।

२०६८ साल असार ७ गते तत्कालीन मोतिपुर गाउं विकास समितिले उक्त स्थानमा बुद्ध मुर्ति स्थापना गर्न लागिएकाले सहयोग गर्न सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा त्यहांको बुद्धपथमा रहेको एक कठ्ठा जग्गा संरक्षण गरी पर्खाल लगाएर बुद्धको मुर्ति स्थापना गरि लामो समयदेखि संंरक्षण हुंदै आएको थियो । त्यहां सानो सामुदायिक भवन समेत बनेको थियो । साविकको जनसंघर्ष टोलमा रहेको उक्त जग्गा अर्कै टोल विकास संस्थाको नामबाट खरिदबिक्री भएको कागज देखाउदै केही ब्यक्तीहरूले अनधिकृत रूपमा कब्जा गर्न खोजेको भन्दै स्थानीय जनता संरक्षणमा जुटेको बताएका छन् ।

बुद्वको मुर्ति स्थापना गरेर बौद्व धर्मावलम्बीहरूले पुजापाठ गर्ने गरेको कम्पाउण्ड वाल लगाई सुरक्षित गरिएको करिब एक कट्ठा जग्गा हडप्न केही दिन अघि भूमाफियाको ठगीमा परेका दुई महिलासहितको १५–२० जनाको समुहले हुलहुज्जत गरि यो जग्गा हाम्रो हो भन्दै बुद्व मुर्ति तोडफोड गर्ने,त्यहाँ गाडिएका बोर्ड उखेलेर फ्याक्नुुका साथै स्थानीयलाई डर धाक धम्की देखाएर आतंकित पार्ने काम गरेको भन्दै सार्वजनिक जग्गाको सुरक्षा र जनताको जिउधनको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएको स्थानीयले बताए ।

कम्पाउण्ड बाल लगाई राखिएको बुद्ध मुर्ति समेत ताेडफाेड भएपछि उक्त मुर्ति सामाजिक भवनको बन्द काेठा भित्र राखेका छन् ।

तत्कालीन अबस्थामा श्री ५ को सरकारको नाममा रहेको साविक मोतिपुर गाविस हाल बुटवल उपमहानगरपालिका वडा नं १७ मा पर्ने कित्ता नं ४७ को जग्गा मध्ये १० बिघा ९ कट्ठा जग्गा केही ब्यक्तिले आफ्नो नाउँमा दर्ता गराउने प्रक्रिया अन्तिम चरणमा पुगेका बेला स्थानीयले अख्तियारमा मुद्दा दिएर सार्वजनिक कायम भएको उक्त जग्गामध्ये ३ बिघा४ कट्ठा जग्गामा हाल ३०० घरधुरीको बसोबास रहेको र एक शिवालय र एक बुद्ध मुर्ति रहेको जनशक्ति टोल अन्तर्गत जनसंघर्ष टोल समितिका उपाध्यक्ष केशरबहादुर खड्काले जानकारी दिए ।

छुट जग्गा दर्ताको बहानामा केही ब्यक्तिले मालपोत र नापी कार्यालयसँगको मिलेमतोमा आफ्नो नाउँमा दर्ता गराउन लागेको उक्त जग्गा सार्वजनिक कायम गराई एउटा टोल विकास संस्थाले संरक्षण गर्दै आएको जग्गा अर्कै टोलको नाउबाट बिक्रीवितरण गर्नु आफैमा गैरकानुनी भएको समितिसचिव लक्ष्मी केसीले बताइन् ।

सार्वजनिक जग्गा अनधिकृत रूपमा कसरी बिक्रीवितरण भयो भन्ने बिषयमा स्वतन्त्र र निस्पक्ष छानबिन गरि दोषी उपर कानुनी कारबाही गर्नुपर्ने स्थानीय दिवाकर पौडेलले बताए ।

समितिका सल्लाहकार कृष्ण नेपालीले पनि सार्वजनिक मठ मन्दिर अनधिकृत रूपमा ब्यक्तिले कब्जा गर्न खोज्नु कुनै पनि किसिमले जायज नभएको बताए ।

मुर्ति तोडफोड गर्ने बिरूद्व कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक जग्गा बेचबिखन गर्नु अख्तियारको दुरुपयोग भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिइने बताउंदै उनले अख्तियारले छानवीन गरी गैरकानूनी काम गर्ने सबैलाई कारवाही गर्नुपर्ने नेपालीले माग गरे ।

गत वर्ष रानीगन्जमै सार्वजनिक जग्गामा अनधिकृत रुपले भवन बनाउन भन्दै हाेर्डिङ बाेर्ड राखेका एक दर्जन संस्थाका बोर्डहरू स्थानीयको उजुरीका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तत्कालै हटाइदिएका थिए । अहिलेका सिडिओ बासुदेव घिमिरेले स्थानीयको माग सुनुवाई गर्छन् कि गर्दैनन् हेर्न बांकी रहेको स्थानीयकाे भनाइ छ ।