बुटवल,२८ जेठ ।
बुटवलमा आजदेखि दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् । साे अवसरमा नगर प्रमुख पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे ।
नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भएगरेका प्रशासनीक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गरे ।
बुटवलले नगरभित्र रहेकासँगै नगर बाहिर रहेका संचार माध्यम र संचारकर्मीहरुको विकास उनीहरुको प्रोत्साहनकालागि विभिन्न शिर्षकमा बजेट सहयोग गर्दै आएको उल्लेख गर्दै उनलेे नगरले गरेका राम्रा र सुधार गर्नु पर्ने विषयलाई समाचारका रुपमा उठान गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाचारले विकास निर्माणसँगै गरिव महिला, दलीत तथा अल्पसंख्यकहरुका अधिकारका विषयमा सहयोग गर्दै आएको उल्लेख गर्दै सहयोग आवश्यक पर्नेलाई निरन्तर सहयोग गर्दै आएको बताइन् । उनले गरिव, विपन्न, असहाय र अल्पसंख्यकका विषयमा समाचार लेख्न आवश्यक रहेको उल्लेख गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पछिल्लो समय केही समूह गणतन्त्रमा केही भएन भनेर राज्यका निकायहरूलाई कमजोर बनाउने र ब्यवस्थामाथि निरन्तर प्रहार गरिरहेको भन्दै पत्रकारहरूले त्यस्ता अफवाहलाई चिर्नेगरि कलम चलाउनुपर्ने बताए । नियमित रूपमा गरिने पत्रकारिताले त्यस्ता भ्रम चिर्न नसकिने भन्दै उनलेे पत्रकारिता र सिंगाे ब्यवस्थामाथिको आक्रमण बिरूद्व शसक्त रूपमा कलम चलाउनुपर्नेमा जाेड दिए ।
युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,पत्रकार महासंघका प्रदेश उपाध्यक्ष आरपी आचार्य,युनियनका संस्थापक अध्यक्ष बालनरसिंह गुरुङ, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, समाजववादी प्रेस संगठनका अध्यक्ष विनोद परियार, युनियनका उपाध्यक्ष कल्पना तिवारीलगायतले विकास पत्रकारिताको विटमा कलम चलाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारिताको विकासकालागि निरन्तर सिकाई जरुरी रहेको बताए ।
तालिममा रुपन्देहीमा क्रियाशिल छापा तथा विद्युतीय संचार माध्यममा काम गर्ने झण्डै डेढसय संचारकर्मीहरुको सहभागिता रहेको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिए । युनियनमा आवद्ध संचारकर्मीको क्षमता विकासकालागि नियमित रुपमा क्षमता विकास कार्यक्रम गर्दै आएको उनले बताए ।
दुई दिनसम्म चल्ने विकास पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलसँगै युनियनका अग्रज पत्रकारहरूले आफ्ना पत्रकारिताका अनुभव आदानप्रदान तथा सहजिकरण गर्ने सचिव कपिल ज्ञवालीले जानकारी दिए ।






