बुटवल,२८ जेठ ।
रूपन्देहीको भैरहवामा दर्ता बिना सञ्चालित १० क्लिनिक र
प्रयोगशाला अनुगमन समितीले बन्द गराएको छ ।
बजार अनुगमनका क्रममा दर्ता बिना क्लिनिक र
प्रयोगशाला सञ्चालन गरेको फेला परेपछि अनुगमन समितीले ताला लगाएर बन्द गराउनुका साथै स्वास्थ्य संस्था दर्ता गर्न निर्देशन समेत दिएको हो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बुधवार भएको अनुगमनमा १० वटा क्लिनिक र प्रयोगशाला दर्ता बिना सञ्चालनमा रहेको पाईएपछि बन्द गरिदिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले जानकारी दिए ।
जिल्लास्तरीय संयुक्त अनुगमन समितिले गरेको अनुगमनका क्रममा भैरहवामा सञ्चालित ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरिएको उनले बताए । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा दर्ता बिना सञ्चालन भएको पाइएकोले बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रानाकाे भनाइ छ ।
दर्ताबिनै संचालनमा रहेका ती स्वास्थ्य संस्थाहरूले न्युनतम मापदण्ड समेत पूरा नगरेको पाइएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्द गरिएका अधिकांश क्लिनिकहरु भिम अस्पतालका सटरमा रहेका छन् ।
बन्द गराइएका स्वास्थ्य संस्थाहरूमा शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चम्सा पसलमा संचालित क्लिनिक, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक रहेका छन् । यस्तै, लुम्बिनी प्याथोलोजी र न्यु ओम प्याथोलोजी ल्याब रहेका छन् ।
बिना दर्ता गैरकानूनी रुपमा स्वास्थ्य संस्थाहरू संचालनमा रहेको भनी प्रशासनमा उजुरी आएपछि अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालित रहेको पाइएको छ प्रशासनले जनाएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइएकाेले त्यस्तालाई तत्कालका लागि बन्द गराइएकाे अनुगमन समिती संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए ।
अनुगमनका क्रममा यी स्वास्थ्य संस्था मध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमती नै नलिइ संचालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उनले बताए । अनुगमनमा जिल्ला प्रशासन कार्यालयसँगै सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग बाणिज्य संघ,औषधि व्यवसायी संघ लगायतका
कार्यालय,संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।
यसअघि गत आइतबार पनि दर्ताविनै संचालित बुटवलका ६ वटा क्लिनिक समेत अनुगमन समितिले बन्द गराएको थियो ।








