दाङ,२८ जेठ ।
बहुमुल्य जडिबुटी यार्सागुम्वासहित दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका ४८ वर्षीय शिवचन्द्र बुढा रहेका छन् ।

उनलाई दाङको लमही नगरपालिका–९ अमिलियाबाट ४९५ ग्राम यार्सागुम्बा र ९८ थान कस्तुरीको बिना जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका बुढाले चलाएको लु ५४ प ७८२७ नम्बरको मोटरसाइकलले लमही नगरपालिका–९ अमिलियामा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि पक्राउ पर्ने डरले स्थानीय रिता चौधरीको घरमा लुकेर बसेको अवस्थामा सोमवार उनलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शाहले बताए ।

पक्राउ परेका बुढालाई आवश्यक छानविनका लागी डिभिजन वन कार्यालय लमही दाङमा बुझाइएको प्रहरीले जनाएको छ ।

बुढामाथी वन पैदावारको अवैध ओसारपसार तथा ढुवानीको मुद्दामा वन ऐन बमोजिम कारबाही अगाडि बढेको प्रहरीले जनाएको छ ।