दाङ,२७ जेठ ।
लागुऔषध काराेबारमा संलग्न रहेको आराेपमा दाङकाे गढवाबाट तीनजना पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौर स्थित गढवा-कोइलाबास सडकखण्डमा प्रहरी चेकिङ टोलीले लु.९६ प ८८९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोटरासाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ प्रगति नगर बस्ने वर्ष २२ को लक्ष्मण बिष्टको शरिर खानतलासी गर्दा लुकाइछिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला परेपछि उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

चेकजाँचका क्रममा लागु औषध खरिद गर्न आएकाे आराेपमा गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निवासी ३९ वर्षीया भन्साराम यादव र गढवा गाउँपालिका वडा नम्बर ६ थानदेखुरी निवासी ३७ वर्षीया सदान मनिहारलाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद भएको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ ६ ग्राम ४६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।