बुटवल,२६ जेठ ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षकाे बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने जनाएको छ ।

साेमबार बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताएका हुन् ।

बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट छुट्याउने भन्दै नगर प्रमुख पाण्डेयले बुटवललाई समृद्ध बनाउन सबैकाे साथ सहयोग जरुरी रहेको उल्लेख गरे । ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने-यसमा नगरले सधै सबैको साथ र सहयोगको अपेक्षा गर्दै आएको छ ।’

तीन वर्षको अवधिमा भएगरेका कामहरुको समीक्षा गर्दै बाँकी अवधिमा बुटवलको हित र पक्षमा काम गर्ने उनलेे बताए । ‘हामीले कार्यभार सम्हालेको ३ वर्षको समीक्षा गर्दै बाँकी अवधिमा पनि बुटवललाई सबल र समृद्ध बनाउने गरी काम गर्ने छौं, उनले भने-यसमा सबैको साथको जरुरी छ ।’
प्रमुख पाण्डेयले विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय जरुरी रहने भएकाले बुटवलको विकासमा सबैको उत्तिकै भूमिका रहने बताए । ‘नभएका काममा मात्रै बुटवलले गरेन भन्ने तर जे जति काम भएका छन् त्यसमा बुटवलको भूमिकै छैन जसरी विचार निर्माण गर्न भएन, उनले भने-बुटवलले आफ्नो तर्फबाट गर्ने काममा सधै प्राथमिकता दिएको छ ।’

३ वर्षको कार्यकालका मुख्य मुख्य उपलब्धिहरुलाई समेटेर बुटवल दर्पण प्रकाशन गरेको भन्दै उनले चालु आर्थिक वर्षमा जारी रहेका कामहरुको विवरण असार मसान्तपछि मात्रै थप गरेर प्रकाशन गर्ने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्ष र क्षेत्रको साथ र सहयोगको अपेक्षा र सुझावको खाँचो रहेको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध र सबल शहरका रुपमा स्थापित गर्नका लागि सबैको भूमिका आवश्यक पर्ने बताइन् । बुटवललाई शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारका क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक कामहरु भइरहेको र त्यसलाई अझ परिस्कृत गर्दै लैजाने उनको भनाइ छ ।