बुटवल,२६ जेठ ।
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको साविक चिदीपानी गा.वि.स. वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमार बस्ने अन्दाजी ५७ वर्षीय सन्तबहादुर सार्की रहेका छन् ।
लामो समय भारतमा लुकिछिपी बस्दै आएका उनलाई आइतबार दिउँसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया स्थित बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतमा लुकिछिपि बसेका उनी नेपाल फर्कने सूचना पश्चात परिचालित प्रहरी टोलीले भैरहवाबाट पक्राउ गरेको हो ।
उनले २०६८ कार्तिक ११ गते अन्दाजी राति साढे ११ बजेको समयमा पाल्पाको साविक चिदीपानी गा.वि.स. वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमारमा सोही स्थानमा बस्ने वर्ष १८ को नरवीर नेपालीको हत्या गरी फरार रहेकाे प्रहरीले जनाएको छ ।
निज उपर मुलुकी मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम कर्तव्य ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम ६ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।






