पाल्पा,२६ जेठ ।
पाल्पाको रम्भा गाउँपालिका–२ र वडा नं ३ स्थित रिमिघा लेक क्षेत्रमा फेला परेको यार्सागुम्बा जस्तै देखिने वस्तु यार्सागुम्बा नै भएको पुष्टि भएको छ ।

सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्ने क्रममा रिमिघा लेक जंगलमा फेला परेको यार्सागुम्बा जस्तै देखिने बस्तु परिक्षण पछि यार्सागुम्बानै भएको पुष्टि भएको हो ।

जंगलमा सुन्तलाकाे बिरुवा राेप्न खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने बस्तु फेला परेपछि उक्त वस्तु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,खुमलटार पठाइएको थियो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार रिमिघा लेक क्षेत्रमा फेला परेको वस्तु यार्सागुम्बानै भएको प्रमाणित भए पनि यसको प्रजाति र औषधिजन्य मूल्य अझै यकिन गरिएको छैन ।

समुद्री सतहबाट सामान्यतः तीनवटा हजार पाँच सयदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा पाइने गरेको यार्चागुम्बा
१८०० मिटरको उपाईमा रहेको पाल्पाको रिमिघा लेक बन क्षेत्रमा फेला परेको हो ।

यसअघि हिमाली तथा उच्च पहाडी क्षेत्रमा मात्रै पाइएको
यार्चागुम्बा समुद्री सतहबाट १८०० मिटर उचाइमा रहेको रिमिघा लेकमा पनि फेला परेपछि पाल्पाका स्थानीयवासी उत्साहित भएकाे रम्भा गाउपालिका वडा नं ३ का वडा अध्यक्ष चेत बहादुर सुनसरीले बताए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा मात्र पाइने यस बहुमूल्य जडीबुटीमा शक्तिवर्धक तथा क्यान्सर, क्षयरोग, रक्तअल्पता, फोक्सो एवं मिर्गौला रोगिका लागि उपयोगी हुने च्याउ जातका अध्यता समेत रहेका भैरब च्याउ उद्योगका सञ्चालक केशव कार्कीको भनाइ छ ।

प्रयोगशालाको प्रतिवेदन आएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले हाललाई सो क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गर्ने निर्णय गरेको वडामा अध्यक्ष सुनसरीले जानकारी दिए ।

नेपाल यार्सागुम्बा आपूर्तिको दृष्टिकोणले चीनपछि दोस्रो स्थानमा रहेको मानिन्छ ।