बुटवल,२४ जेठ ।
नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलाल पुँजीबादी अर्थ ब्यवस्था अवलम्बन गरेका कारण नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्न नसकेको बताएका छन् ।
अर्थशास्त्रका अध्यता मनिकर कार्कीद्वारा लिखित अर्थ दृष्टि अल्पविकासकाे अर्थ-राजनीति पुस्तकमाथि शनिबार बुटवलमा आयोजित विमर्श कार्यक्रममा महासचिव भुसालले दलाल पुँजीवादी अर्थ ब्यवस्थाका कारण मुलुक लामो समय अल्पविकसित मुलुकमा सिमित रहेको बताएका हुन् ।
दलाल पुँजीवादी अर्थ ब्यवस्था रहेसम्म मुलुक अल्पविकसितबाट माथि उठ्न नसक्ने भन्दै उनलेे त्यसको अन्त्यका लागि कठाेर आलोचनात्मक बाैद्विक जमात तयार गर्नुपर्नेमा जाेड दिए ।
कृषि प्रधान देश नेपालमा कृषिको विकास नगरी
गुजारा कृषि प्रणाली अपनाउदा कृषिबाट समुचित लाभ लिन नसकिएको भन्दै महासचिव भुसालले कृषिको विकास गर्न छाडेर एकैचोटि सेवा क्षेत्रमा प्रवेश गरेका कारण मुलुक गुजारामुखी अर्थतन्त्रबाट गुज्रिनुपरेकाे टिप्पणी गरे ।
नेपालकाे राजनीति श्रम गरेर आत्मनिर्भर हुने भन्दा सत्ता दाेहन गरेर बाच्ने पल्टन खडा हुदै गएको बिचार ब्यक्त गरे ।
राजधानी काठमाडौपछि बाैद्विक क्षेत्रमा अग्रणी रहेको बुटवलमा पछिल्लो समय बाैद्विक बहसमा कमि महसुस भएको भन्दै उनलेे यो पुस्तक बुटवलकाे बाैद्विक पुनर्जागरणकाे सुरुवात पनि हुनसक्ने बताए ।
नेपाल अल्पविकसित हुनुको अर्थ राजनीति बारे पुस्तकमा व्यापक चर्चा गरिएको भन्दै भुसालले अर्थ राजनीति बारे जानकारी लिन चाहनेहरूका लागि पुस्तक उपयोगी हुने विश्वास ब्यक्त गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक नेपालमाे इतिहासलाई गहिरो अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको भन्दै नीतिनिर्माता, राजनीतिज्ञ तथा युवाहरुका लागि उपयोगी रहेको बताए ।
लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशिले पुस्तकले नेपाल पछाडी पर्नुको कारणदेखि अर्थतन्त्रका सबै समस्याहरुको बारेमा उल्लेख गरेको बताइन् । पुस्तक सरल र सहज भाषामा लेखिएकाले अर्थशास्त्र अध्ययन नगरेकाले पनि सजिलैसँग बुझन् सक्ने उनको भनाइ थियो ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले पुस्तकमा सम्रग अर्थव्यवस्था र अर्थराजनीतिको बारेमा उल्लेख गरिएकाे भन्दै पुस्तक सुरुदेखि अन्त्यसम्म पाठकलाई आफु तर्फ तान्ने बताए ।
लेखक मनिकर कार्कीले आफुले आम नागरिकको मनमा खेलेका कुराहरुलाई पुस्तकमा उतारेकाे भन्दै समाजलाई दिशाबोध गराउन पुस्तक लेख्न आवश्यक ठानेर पुस्तक लेखेको बताए ।
आफुले अब निरन्तर रुपमा पुस्तक लेख्ने भन्दै उनलेे पुस्तक अध्ययन गरेर आलोचनात्मक सुझाव दिन पाठकहरुलाई अपिल समेत गरे ।
‘अर्थदृष्टि’ पुस्तकले नेपाली अर्थतन्त्रको ऐतिहासिक चरित्र उत्खनन् गर्दै मुलुक अल्पविकासको जटिलताहरूलाई राजनीतिक र सामाजिक सन्दर्भसँग जोडेर व्यापक विश्लेषण प्रस्तुत गरिएको छ ।
पुस्तकको जेठ ९ गते काठमाडौंमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल, पूर्वमन्त्री तथा नेकपा(एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री, पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र अनुसन्धानकर्ता एवम् अर्थशास्त्री डा. कल्पना खनालले संयुक्त रूपमा विमोचन गरेका थिए ।
इन्डिगो इन्क प्रकाशन गृहद्वारा प्रकाशित यो पुस्तकको मनिकर कार्कीको दोस्रो पुस्तक हो । यस अघि कार्कीको ‘वैकल्पिक अर्थतन्त्र’ नामक पुस्तक प्रकाशित भइसकेको छ ।






