बुटवल,२३ जेठ ।
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकाललाई आफ्नो दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा हाजिर हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

२०८१ साल असार ५ गतेको निर्णयअनुसार सप्तरीस्थित गजेन्द्रनारायण अस्पतालमा पदस्थापन भएका डा.ढकाल हालसम्म बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन् । जसका कारण सप्तरीको गजेन्द्रनारायण अस्पतालमा सेवा प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज डा. ढकाललाई तुरुन्त दरबन्दी रहेको अस्पतालमा हाजिर हुन निर्देशन दिँदै लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ पठाएको छ ।

डा. ढकाल हाल १० तहका सर्जन हुन् तर केही समयअघि प्रदेश सरकारले उनलाई ११ तहको दरबन्दी रहेकाे मेसु पदमा नियुक्त गरेको थियो । त्यस बिरूद्व अदालतमा मुद्दासमेत दायर भएको थियो ।

डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हुन् भन्ने थाहा छ तर उनको दरबन्दी सप्तरीमा छ भन्ने आफुलाई जानकारी नभएको लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले बताए ।