बुटवल,२० जेठ ।
रुपन्देहीका नदी तथा खोलाहरुबाट केही दिन यता अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासी भइरहेको भन्दै समाजवादी मोर्चा रुपन्देहीले आपत्ति जनाएको छ ।

पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट
अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासी भइरहेको भन्ने खबरहरू आएकाे भन्दै माेर्चाले उक्त कार्यप्रति आपत्ती जनाएको हो ।

केही दिन यता बुटवल, सैनामैना, देबदह, सियारी सुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरुले तिनाउ, दानब, चरङ्गे खोला, चरङ्गे ठाडो खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला घोडाहाखोला, सुक्रौलीघाट लगायतका अधिकांश खोलाहरुमा मापदण्ड बिपरित अबैधरुपमा अनियन्त्रितरुपमा दोहन गरी नदिजन्य पदार्थ ढुङ्गागिट्टी, बालुवा दोहन गरी चोरी निकासी भईरहेको र केहि क्रसर उद्योगमा अबैध ओसारपसार र मापदण्ड बिपरित घाटगड्डी गरेको भन्दै मोर्चाले उक्त कार्य तत्काल राेक्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएको छ ।

मोर्चाका रुपन्देही संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद वली, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष हिराध्वज शाहद्बारा हस्ताक्षरित विज्ञप्तिमा सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड बिपरित राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा नापजाँच भन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगड्डी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम बिपरित घाटगड्डी गर्ने, चोरी गर्ने र अबैध निकासी गर्ने जस्ता कार्यहरु तत्काल बन्द गर्न गराउन र नियमित अनुगमन, नियन्त्रण, निगरानी, नियमन गर्न र अबैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

प्राकृतिक स्रोत साधनको दोहनका लागि मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्काल हटाउन माग गर्नुका साथै आफ्नो अनुरोधलाई बेवास्ता गरे संघर्षमा जाने मोर्चाले चेतावनी दिएको छ ।

(यस्तो छ विज्ञप्तिको पूर्णपाठ)
समाजवादी मोर्चा नेपाल निर्माण भएदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविका सहित भ्रस्टाचार, अनमियता, सामाजिक बिभेदका विरुद्ध र सुशासन सामाजिक रुपान्तरण लगायतका जनसरोकारका विषयमा निरन्तर संघर्ष गर्दै आईरहेको कुरा सर्वबिदितै छ।
यसै सन्दर्भमा केही दिन यता बुटवल, सैनामैना, देबदह, सियारी सुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरुले तिनाउ, दानब, चरङ्गे खोला, चरेङ्गे ठाडो खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला घोडाहाखोला, सुक्रौलीघाट लगायतका अधिकांश खोलाहरुमा अनियन्त्रितरुपमा मापदण्ड बिपरित अबैधरुपमा दोहन गरी नदिजन्य पदार्थ ढुङ्गागिट्टी, बालुवा दोहन तथा चोरी निकासी भईरहेको र केहि क्रसर उद्योगमा अबैध ओसारपसार र मापदण्ड बिपरित घाटगड्डी गरेको कार्यप्रती हाम्रो समाजवादी मोर्चा नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ।

सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड बिपरित राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा नापजाँच भन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगड्डी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम बिपरित घाटगड्डी गर्ने, चोरी गर्ने र अबैध निकासी गर्ने जस्ता कार्यहरु तत्काल बन्द गर्न गराउन र नियमित अनुगमन, नियन्त्रण, निगरानी नियमन गर्न र अबैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।

साथै प्राकृतिक स्रोत र साधनको दोहनका लागि मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्काल हटाउन हार्दिक अनुरोध गर्दछौं ।

अन्तमा हाम्रो अनुरोधलाई बेवास्ता गरिएमा संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने कुरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौं ।