पाल्पा,२२ जेठ ।
पाल्पाको रम्भा गाउँपालिका वडा नं-२ र वडा नं–३ मा पर्ने रिमिघा वन क्षेत्रमा यार्सागुम्बा जस्तै देखिने वनस्पति फेला परेपछि साे क्षेत्र प्रवेशमा राेक लगाइएको छ ।

गाउँपालिका वडा नं-२ पोसपाखा रिमिघा सामुदायिक वन क्षेत्रमा सुन्तला लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि वडा नं ३ फोक्सिङ्कोटका स्थानीयले पनि रिमिघा लेकको उत्तरपुर्व क्षेत्रमा खोजी गर्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वनस्पति फेला परेको नं ३ का वडाध्यक्ष चेतबहादुर सुनारीले जानकारी दिए ।
यसअघि हिमाली क्षेत्रमा मात्रै पाइने यार्सागुम्बा जस्तै देखिने बस्तु आफ्नै बन जंगलमा फेला परेको सामाजिक सञ्जाल मार्फत हल्ला फैलिएपछि उक्त बस्तु खाेज्न स्थानीयकाे भिड लागेको थियो ।
रिमिघा लेक बनमा यार्सागुम्बा जस्तै देखिने वनस्पति फेला परेपछि परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार,ललितपुर पठाइएको रम्भा-२ का वडा अध्यक्ष थमन बहादुर गाहाले जानकारी दिए ।
यार्सागुम्बा जस्तो देखिने बस्तु फेला परेको खबर सार्वजनिक भएसँगै उक्त बस्तु खाेज्न स्थानीयकाे भिड लाग्न थालेपछि रम्भा गाउपालिकाले बन क्षेत्र प्रवेशमा राेक लगाईएकाे वडा अध्यक्ष गाहाले बताए ।
समुद्री सतहबाट १ हजार ७ सय ५० देखि १ हजार ८ सय १० मिटरको उचाईमा रहेको पाल्पाकै दाेस्राे अग्लो रिमिघा लेकमा यार्सागुम्बा जस्तै देखिने बस्तु फेला परेपछि उक्त बस्तु यार्सागुम्बा हो कि होइन र यार्सागुम्बानै भए त्यसको गुणस्तर के छ भन्ने अनुसन्धानका लागि प्रयोगशालामा पठाई बन क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा राेक लगाइएको रम्भा गाउपालिका
वडा नं ३ का वडाध्यक्ष चेतबहादुर सुनारीले जानकारी दिए ।
बन क्षेत्र प्रवेशमा राेक लगाएसँगै प्रहरी चाैकी ताहुँ,प्रहरी चाैकी पिपलडाँडा र पालिकाकाे प्रहरीले सो क्षेत्रमा सुरक्षा दिएका छन्।
परिक्षण नहुँदै उक्त बस्तु खाेज्न स्थानीयकाे भिड लाग्नथालेपछि बन क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा राेक लगाउनुपरेकाे सो ठाउमा भेटिएका वडा अध्यक्ष सुनारीले बताए ।
गाउँपालिकाले सर्वसाधारणलाई पिपलडाँडाको रिमिघा लेकमा प्रवेशमा रोक लगाएलगत्तै डिभिजन वन कार्यालयले पनि रोक लगाएको सूचना जारी गरेको छ । त्यस बिषयमा प्रतिक्रिया लिन डिभिजन वन प्रमुख नारायणदेव भट्टराईको मोबाइलमा सम्पर्क गर्दा फोन उठेन ।
बन ऐन, २०७६ को दफा ९ बमोजिम निषेध गरिएको जनाइएको छ । सो आदेशको उलंघन गरेमा वन ऐन, २०७६ को दफा ४९ को (थ) बमोजिमको कसुर ठहर हुने छ ।
ऐनको दफा ५० को (१४) बमोजिम ६ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना र दुवै सजाय हुने व्यवस्था रहेको छ ।






