बुटवल,१९ जेठ ।
रुपन्देहीमा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा बुटवल उपमहानगरपालिकाले शानदार प्रदर्शन गर्दै प्रथम स्थान हाशील गरेको छ ।

तिलोत्तमा नगरपालिकाकाकाे कुन्जलापुर स्थित झरना स्पोर्ट्स खेल मैदानमा सम्पन्न प्रतियोगितामा २९ स्वर्ण, १४ रजत र ४ काश्य पदकसहित बुटवल उपमहानगरपालिकाले प्रथम स्थान हाशील गर्न सफल भएको हो ।
बुटवलपछि तिलोत्तमा नगरपालिकाले दोस्रो स्थान प्राप्त गर्यो । तिलोत्तमाले ७ स्वर्ण, ५ रजत र १९ काश्य पदक जित्दै उपविजेताको स्थानमा रह्यो ।
प्रतियोगितामा सैनामैना नगरपालिकाले तेस्रो स्थान हासिल गर्यो । उसले ६ स्वर्ण, ९ रजत र १९ काश्य पदक जितेको थियो ।
देवदह नगरपालिकाले ५ स्वर्ण, ५ रजत र १३ काश्य पदक जित्दै चौथो स्थान हात पार्यो ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिकाले ३ स्वर्ण, ९ रजत र ११ काश्य, सियारी गाउँपालिकाले २ स्वर्ण, ६ रजत, ३ काश्य र गैडहवा गाउँपालिकाले १ स्वर्ण, ५ रजत, ८ काश्य पदक प्राप्त गरे ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरू दाङमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
समापन समारोहमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विजेता टोलीलाई बधाई दिँदै
बुटवलले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर बजेट बिनियाेजन गर्दै आएको बताए ।
बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रमा ठूलो लगानी गरेकाे भन्दै नगर प्रमुख पाण्डेयले साे लगानी व्यर्थ नजाओस् भन्ने तर्फ खेलाडीहरू पनि सचेत हुनुपर्नेमा जाेड दिए ।
शिक्षा र स्वास्थ्यसँगै खेलकुदकाे माध्यमबाट पनि बुटवललाई चिनाउने आफुहरूकाे योजना रहेको बताउ्दै उनलेे यसबर्ष बुटवल उपमहानगरपालिका आफैंले बिभिन्न बिधाका ५८ वटा खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी गराए ।
स्थानीय तहसँगै जिल्ला र प्रदेश सरकारले पनि खेलकुदलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बेला आएको भन्दै उनले प्रदेशस्तरीय खेलमा सहभागी हुने टोलीलाई जितेको शुभकामना पनि दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमामा प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको भन्दै उनले तिलोत्तमा नगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै लगेको र भविष्यमा थप रणनीतिक योजनाहरू ल्याइने बताए ।
बुटवल उपमहानगरपालिकाका नगर खेलकुद विकास समिति संयोजक बोनिन पियाले खेलकुदबाट युवामा सकारात्मक सोच, स्वस्थ जीवनशैली, सामाजिक सद्भाव र राष्ट्रिय पहिचान निर्माणमा सहयोग पुग्ने बताए ।
उनले स्थानीय तहदेखि केन्द्रसम्म सबै निकाय मिलेर खेल क्षेत्रको विकासका लागि योजना बनाउनुपर्नेमा जोड दिए । “खेल प्रतिस्पर्धाबाट मात्र नभई, समाजलाई एकताबद्ध बनाउने माध्यम पनि हो,” उनले भने ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका ७ वटा स्थानीय तहको सहभागिता रहेको संयोजक पियाले जानकारी दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल,बुटवल उपमहानगरपालिका खेलकुद शाखा प्रमुख कोपिला ज्ञवाली लगायतको सहभागीता रहेकाे थियो ।






