बुटवल,१७ जेठ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले
सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि प्रस्तुत गरेको बजेट सुवर्ण शमशेरपछिको क्रान्तिकारी र सन्तुलित भएको बताएका छन् । बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका बेला पूर्व गृहमन्त्री खाँणले बर्तमान सरकारले हालै प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा क्रान्तिकारी र सन्तुलित भएको बताएका हुन् ।
लामो समयपछि बिस्तारै सार्वजनिक कार्यक्रमहरूमा सक्रियता बढाएका कांग्रेस नेता खाँणले शनिबार बुटवलमा आयोजित
अन्तरक्रिया कार्यक्रममा कांग्रेस-एमाले गठवन्धन सरकारले ल्याएको बजेट सुवर्ण शमशेरपछिको क्रान्तिकारी र सन्तुलीत भएको बताए ।
बुटवलसँग सीमा जाेडिएका पालिकाहरूसँगकाे सहकार्य र संयुक्त अभ्यास सम्बन्धमा बुटवल उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया गाेष्ठीकाे उद्घाटन गर्दै नेता खाँणले बजेटले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने बिश्वास ब्यक्त गरे ।
रोष्ट्रममा उभिएपछि अर्काका बारेमा विरोध गर्ने प्रचलन बढेको भन्दै उनलेे शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्कृष्ट बजेट ल्याएकोमा प्रधानमन्त्री,अर्थमन्त्री र वर्तमान सरकारलाई धन्यवाद दिए ।
बजेट यथार्थमा आधारित रहेको भन्दै उनले बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीलाई सुधार गर्ने बताए ।
हालै भारतमा भएको कुम्भमेलामा सहभागी संख्या र त्यसको ब्यवस्थापनमा देखिएको कुशलता आस्चर्यजनक रहेको स्मरण गर्दै उनलेे कुम्भमेलाबाट भारतीय अर्थतन्त्रलाई ठूलो टेवा पुगेको उल्लेख गरे ।
पर्यटननै नेपालकाे आर्थिक विकासकाे मेरूदण्ड भएको भन्दै नेता खाँणले पर्यटकीय क्षेत्रकाे विकास मार्फत आर्थिक उपार्जन गर्नु्काे बिकल्प नभएको बताए ।
यसअघि नेपालमा आउने पर्यटकहरूले २५ हजार रुपैयाँ मात्रै ल्याउन पाउने अवस्था रहेको भन्दै उनलेे अहिले सरकारले ल्याएको बजेटले त्यसलाई ५ सय डलर पुर्याएकोले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।
चेकजाँचका क्रममा नेपाल प्रहरीले भारतीय पर्यटकलाई अनेक सास्ती र झन्झट दिएको गुनासो आउने गरेको भन्दै पूर्व गृहमन्त्री खाँणले यसले पर्यटन प्रवर्द्धन नहुने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि लुम्बिनी प्रदेशमा भारतीय पर्यटकहरूलाई प्रहरी प्रशासनबाट भएको चेकिङ सम्बन्धी गुनासोलाई तत्काल समाधान गर्न प्रशासनको ध्यानाकर्षण गराए ।
प्रदेश सभामा बाेल्ने माननीयहरूले सधैंजसाे साे कुरा उठाउदै आएको भन्दै उनलेे चेकजाँचका नाममा भारतीय पर्यटकहरूलाई अनावश्यक दुख दिने कार्य तत्काल बन्द गर्नुपर्नेमा जाेड दिए ।
बुटवल उपमहानगरपालिकाले सीमाका पालिकाहरूसँग छलफल गरेर दिगो विकासको नीति लिएको भन्दै उनले बुटवल उपमहानगरको थालनी सकारात्मक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले आफूहरूले छिमेकी पालिकाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको भन्दै सङ्घ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरे । उनले राजस्व बाँडफाँड, जग्गाको सदुपयोग, वन र नदीजन्य पदार्थको निकासीमा आफूहरूको असन्तुष्टि रहेको बताए ।
बुटवलबाट प्रदेशको राजधानी सार्ने बेला बुटवललाई आर्थिक केन्द्रकाे रूपमा विकास गर्ने घाेषणा गरिएको स्मरण गर्दै उनलेे त्यस अनुरूप कुनै योजना नल्याएको गुनासो गरे ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, संविधानविद् काशीराम दाहाल,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल लगायतले बोल्दै स्थानीय सरकारले जनताको भावनालाई आत्मसाथ गर्दै नीति अगाडि सार्नुपर्ने बताए ।
साे अवसरमा बरिस्ठ संविधानविद तथा प्रशासनविद काशीराज दाहालले संविधान र स्थानीय सरकार : सहकार्य र अन्तर सम्बन्ध,लुम्बिनी प्रदेश लाेकसेवा आयोगका सदस्य बाबुराम गाैतमले कर्मचारी पदपूर्ति,वृत्ति विकास, स्थानीय पालिकाहरूमा कर्मचारीहरूका समस्या र समाधानका उपायहरू तथा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सेवा प्रवाह र गुनासो व्यवस्थापनकाे कसाैटीमा नेतृत्व बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।






