बुटवल,११ बैशाख ।
नेपाल महिला मगर संघ रुपन्देहीको ८ औं जिल्ला अधिवेशनमा बुटवल उपमहानगर समितिकाे तर्फबाट एक पक्षीय प्रतिनिधित्व गराइएको भन्दै अर्को पक्षले बिराेध गरेको छ ।

गौरीमाया थापा नेतृत्वकाे नेपाल मगर महिला संघ, बुटवल उपमहानगर समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरि
यही वैशाख ८ गते तिलोत्तमाको कुञ्जलापुरमा भएको जिल्ला अधिवेशनमा नेतृत्वले एकपक्षीय गरेको भन्दै आपत्ती जनाएको हो ।

बुटवल उमहानगर समितिको तर्फबाट जिल्ला समितिले अवैधानिक समितिलाई मान्यता दिएर प्रतिनिधि बनाई आधिकारिक प्रतिनिधिलाई सहभागी नगराएको उनिहरूकाे आराेप छ ।

बुटवलमा गौरीमाया थापाकाे नेतृत्वमा नेपाल मगर महिला संघ गठन भएपनि जिल्ला अध्यक्ष चन्दा थापा लगायतका व्यक्तिहरुले आफ्नै राजनीतिक विचार निकटका व्यक्तिहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरेको आरोप लागेको छ ।

तत्कालिन कोषध्यक्ष सरिता श्रीसलाई अध्यक्ष तथा सचिव नारायणी पाटालाई नेतृत्वमा ल्याएर जिल्ला समितिले आधिकारिक समितिलाई मान्यता नदिएको संस्थापक तथा पूर्व अध्यक्ष ओमी पुनले बताइन् । नेपाल मगर महिला संघ, केन्द्रीय समिति काठमाण्डौले २०८०/०६/२३ गते एक पत्र लेख्दै गौरीमाया थापाको नेतृत्वलाई आधिकारिकता दिए पनि राजनीतिक प्रतिसोधका आधारमा जिल्ला र प्रदेश अध्यक्षले निर्णय र निर्देशनलाई कार्यान्वयन गर्न नमानेको पुनकाे भनाइ छ ।

२०७९ साल चैत्र १८ गतेका दिन सातौ साधारण सभा तथा तेश्रो अधिवेशनबाट गौरीमाया थापाको नेतृत्वमा १८ सदस्यीय कार्य समिति विधिवत रुपमा चयन भएको जनाउँदै पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा केन्द्रले मान्यता दिएको समितिलाई प्रदेश र जिल्ला समितिले मान्यता नदिएपछि विवाद उत्पन्न भएको जनाइएको छ ।

राजनीतिक स्वार्थमा जिल्ला अध्यक्ष चन्दा थापाले मगर महिला संघ केन्द्रीय समितिको निर्देशन तथा अध्यक्षको आग्रहलाई समेत बेवास्ता गरी एकपक्षीय रुपमा अधिवशेन गरेको भन्दै बुटवल उपमहानगर समितिले बिरोध जनाएको हो । मगर महिला संघलाई केही सीमित व्यक्तिको स्वार्थ अनुसार राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठनको रुपमा कुण्ठित गर्न खोजिएको भन्दै बुटवल उपमहानगर समितिले आपत्ती जनाएको छ ।

मगर महिला संघ बुटवल उपमहानगर समितिलाई कुनै पनि प्रकारले सुचना नै नगराई विधान सम्मत जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्न र हुन पाउने अधिकारलाई षडयन्त्रपूर्ण ढंगले कुण्ठित गरिएको भन्दै बुटवल उपमहानगर समितिकी पूर्व अध्यक्ष तथा सल्लाहकार कुमारी थापाले आपत्ति जनाइन् ।

मगर महिला संघ रुपन्देहीकी अध्यक्ष चन्दा थापाले भने अधिवेशनमा कुनै पनि विवाद नभएको दाबी गरिन् ।

जिल्ला समितिमा नभई बुटवल उपमहानगर समितिभित्र विवाद भएको उल्लेख गर्दै थापाले जिल्ला समितिले प्रक्रियागत रूपमा
आह्वान गरेको नगर अधिवेशनमा उपस्थित नभएर आफुखुसी चयन गरिएको नगर समितिलाई जिल्ला र प्रदेश समितिले मान्यता नदिने बताइन् ।

जिल्ला र प्रदेश समिति हुँदाहुँदै केन्द्रले ठाडो आदेश दिनु गलत भएको भन्दै उनले बोधार्थ पत्रका आधारमा बुटवल नगरसमितिलाई मान्यता दिन नसकिने स्पष्ट पारिन् ।

यसैगरी मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुले जिल्ला अधिवेशनमा कुनै पनि विवाद उत्पन्न नभएको दाबी गर्दै बुटवल उपमहागनगर समितिको मान्यता बारे केन्द्रले पाठाएको बोधार्थ पत्र जिल्लासँग सम्बन्धित भएको उल्लेख गरिन् । संघमा राजनीतिक आस्थाका आधारमा व्यवहार भएको भन्ने आरोप निराधार भएको उनको दाबी छ ।

उनलेे विधि,बिधान र प्रक्रियागत रूपमा भएका अधिवेशनबाट चयन भएको समितिलाई केन्द्रीय अध्यक्षले पत्र लेख्दैमा मान्य वा अमान्य हुन नसक्ने बताइन् ।